दुबईमा बुद्ध जयन्ती र नयाँ वर्ष २०८३ भव्य रूपमा सम्पन्न
03 May 2026
दुबई, ३ मे २०२६ — लुम्बिनी प्रदेश समाज यूएई तथा विभिन्न सहयोगी संस्थाहरूको संयुक्त आयोजनामा २५७०औँ बुद्ध जयन्ती र नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम दुबईमा अत्यन्त भव्यताका साथ सम्पन्न भएको छ। “एकता र सहकार्य: लुम्बिनीको पहिचान, बुद्ध जन्मभूमि विश्व शान्ति अभियान” भन्ने मूल नारासहित आयोजित उक्त समारोहमा यूएईस्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम लुम्बिनी प्रदेश समाजका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा नेपाल महावाणिज्यदूतावास, दुबईका उपमहावाणिज्यदूत कृष्ण प्रसाद चापागाईंको उपस्थिति रहेको थियो। आफ्नो मन्तव्यमा उहाँले प्रवासमा नेपाली भाषा, संस्कृति र मौलिक पहिचान जोगाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, यूएईमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको विशिष्ट आतिथ्यले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो, जसले सहभागीहरूलाई गहिरो प्रभाव पार्यो। यसैगरी, धर्मगुरुहरूद्वारा बौद्ध परम्पराअनुसार पूजाअर्चना तथा स्वस्तिक वाचन गरिँदै विश्व शान्तिको कामना गरिएको थियो।
सांस्कृतिक प्रस्तुतिमा लुम्बिनी क्षेत्रका कलाकारहरूले मौलिक भजन तथा परम्परागत कौडा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। सहभागीहरूले नेपाली कला, संस्कृति र पहिचानको झल्को अनुभव गर्ने अवसर पाएका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न संयोजक केशव ढकालसहित सम्पूर्ण व्यवस्थापन समिति, स्वयंसेवक, सहयोगी संस्थाहरू तथा अभियन्ताहरूले महत्वपूर्ण योगदान पुर्याएका थिए। आयोजकले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
