पाल्पाली समाज यूएईद्वारा आधिकारिक वेबसाइटको उद्घाटन २५ जनवरी २०२६- भव्य रूपमा सम्पन्न
25 Jan 2026
पाल्पा, २५ जनवरी २०२६ । पिताम्बर सुवेदी ।।
पाल्पाली समाज यूएईद्वारा आधिकारिक वेबसाइटको उद्घाटन २५ जनवरी २०२६- भव्य रूपमा सम्पन्न ।
पाल्पाली समाज युएईले आफ्नो संस्थागत यात्रामा नयाँ उपलब्धि जोड्दै आधिकारिक वेबसाइटको शुभारम्भ तथा ‘ढाका बचत समूह’को तेस्रो वार्षिकोत्सव एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। प्रवासमा रहेका पाल्पालीहरूलाई प्रविधिमार्फत जोड्ने र संस्थाका गतिविधि पारदर्शी रूपमा विश्वव्यापी रूपमा प्रस्तुत गर्ने उद्देश्यले यो महत्वपूर्ण कदम चालिएको हो।
स्वागत तथा उद्घाटन सत्र
समारोहको शुभारम्भ पाल्पाली समाज युएईका वरिष्ठ उपाध्यक्ष श्रीकृष्णप्रसाद तिमल्सिनाको स्वागत मन्तव्यबाट गरिएको थियो। उहाँले अतिथि, प्रतिनिधि तथा सदस्यहरूलाई स्वागत गर्दै संस्थाको एकता, पारदर्शिता र सहकार्यको महत्वमाथि प्रकाश पार्नुभयो।

मुख्य अतिथि नेपाली महावाणिज्यदूतावास दुबईका प्रतिनिधि श्री कुञ्जन शाहको प्रमुख आतिथ्यतामा डिजिटल प्रविधिको प्रयोग गर्दै वेबसाइटको औपचारिक उद्घाटन सम्पन्न गरियो। समारोहमा समाजका सल्लाहकार बरुण खनालले वेबसाइटको प्राविधिक पक्ष, सञ्चालन प्रणाली र भविष्यका योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
संस्थाको गौरवमय यात्रा
कार्यक्रममा संरक्षक संयोजक श्री कृष्णप्रसाद आचार्य र संरक्षक सदस्य वेद प्रसाद अर्यालले समाजको स्थापनादेखि अहिलेसम्मको यात्राको संक्षिप्त झल्को प्रस्तुत गर्दै संस्थाले प्रवासमा पुर्याएको योगदान र परोपकारी गतिविधि स्मरण गर्नुभयो।
यस अवसरमा विभिन्न संघसंस्थाका प्रमुख व्यक्तित्वहरूले शुभकामना र सहयोगका प्रतिबद्धता व्यक्त गर्नुभयो—

राम मोक्तान, अध्यक्ष, नेपाली समाज युएई – पाल्पाली समाजको सक्रियताको प्रशंसा गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता।
एकेन्द्र थापा, कोषाध्यक्ष, युएई बिजनेस काउन्सिल – संस्थाको पारदर्शी कामप्रति उच्च सम्मान र भविष्यमा सहयोगको आश्वासन।
उमाकान्त पाण्डे, पत्रकार – समाजका गतिविधिहरूको सराहना गर्दै सुधारका लागि रचनात्मक सुझाव।
सम्मान तथा मायाको चिनो वितरण
वेबसाइट विकासमा सक्रिय रूपमा संलग्न प्राविधिक टोलीलाई अध्यक्ष कैलाश अर्याल, प्रमुख अतिथि, सल्लाहकार र संरक्षकहरूको उपस्थितिमा प्रशंसा–पत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, अतिथिहरूलाई कृतज्ञता स्वरूप मायाको चिनो अर्पण गर्दै बिदाइ गरिएको थियो।

विशिष्ट उपस्थितिहरू
कार्यक्रममा युएईभर रहेका विभिन्न नेपाली संघ–संस्थाका लब्धप्रतिष्ठित प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रह्यो, जसमा लुम्बिनी प्रदेश समाज,नवलपरासी सेवा समाज, सैनामैना समाज तथा नवलपुर सेवा समाजका पदाधिकारीहरू, चार्टर्ड एकाउन्टेन्ट विनोद चापागाई, समाजका उप–संरक्षक खुम बहादुर आले लगायत बहुप्रतिभाशाली सामाजिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रह्यो।
सांस्कृतिक रौनक र समापन
औपचारिक सत्रपछि आयोजित सांस्कृतिक कार्यक्रमले समारोहमा थप रौनक थप्यो। चर्चित कलाकार निरुता गैरेको साँगीतिक प्रस्तुतिले उपस्थित अतिथिहरूलाई मन्त्रमुग्ध बनायो।
कार्यक्रमको सभापतित्व अध्यक्ष कैलाश अर्यालले गर्नुभयो भने, सञ्चालनको जिम्मेवारी महासचिव खुमप्रसाद न्यौपानेले सफलता पूर्वक वहन गर्नुभएको थियो।
