पाल्पाली ढाका बचत समूह, यूएईद्वारा “वार्षिक भेला तथा खोजी प्रतिभा–२०२६” भव्य रूपमा सम्पन्न
21 Jun 2026
पाल्पाली ढाका बचत समूह, यूएईद्वारा “वार्षिक भेला तथा खोजी प्रतिभा–२०२६” भव्य रूपमा सम्पन्न
दुबई, २१ जुन २०२६ — पाल्पाली ढाका बचत समूह, यूएईको आयोजनामा दुबईस्थित जया किचन रेष्टुरेन्टमा “वार्षिक भेला तथा खोजी प्रतिभा–२०२६” कार्यक्रम भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
प्रवासमा रहेका पाल्पाली समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। विगत चार वर्षदेखि समुदायलाई एकताबद्ध बनाउँदै आएको यस बचत समूहले पहिलो पटक आयोजना गरेको “खोजी प्रतिभा” कार्यक्रमले सहभागी तथा दर्शकहरूको मन जित्न सफल भएको छ।
कार्यक्रमका सभापति तथा समूहका परिकल्पनाकार श्री वेद प्रसाद अर्यालज्यू तथा प्रमुख अतिथि, पाल्पाली समाज यूएईका संरक्षक संयोजक श्री कृष्ण प्रसाद आचार्यज्यूको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिहरूमा पाल्पाली समाज यूएईका अध्यक्ष श्री कैलाश अर्यालज्यू, संरक्षक सदस्य श्री खुम बहादुर आलेज्यू, प्रमुख सल्लाहकार श्रीमती ओमकुमारी खाणज्यू, सल्लाहकारहरू श्री बरुण खनालज्यू, श्री माधव गैरेज्यू, श्री लाल बहादुर ढेगाज्यू तथा श्री लोक सुनारीज्यूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यसमिति पदाधिकारीहरू तथा बचत समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत कविता, वक्तृत्वकला, नृत्य, नाट्य तथा गीतमार्फत सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका थिए। प्रवासमै रहेर नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा थपेको छ।
कार्यक्रमको सञ्चालन महासचिव श्री खुम प्रसाद न्यौपानेज्यूले कुशलतापूर्वक गर्नुभएको थियो।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सदस्यहरू, सहयोगीहरू तथा उपस्थित महानुभावहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै आगामी दिनमा यस कार्यक्रमलाई अझ व्यापक, प्रभावकारी तथा संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाइएको छ।
यसै अवसरमा पाल्पाली समाज यूएईको महिला संयोजकका रूपमा श्रीमती सुनिता पाठकज्यूलाई नियुक्त गरिएको जानकारी गराइएको छ।
— पाल्पाली समाज यूएई
