दुबईमा खोजी प्रतिभा–२०२६ सम्पन्न, विजया गौतमको “पाल्पाली मनको डिजिटल चौतारी” आकर्षण
21 Jun 2026
दुबई, २१ जुन २०२६। पाल्पाली ढाका बचत समूह, यूएईको आयोजनामा दुबईस्थित जया किचन रेस्टुरेन्टमा “वार्षिक भेला तथा खोजी प्रतिभा–२०२६” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा विविध सांस्कृतिक तथा साहित्यिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए। सोही अवसरमा आदरणीय विजया गौतमज्यूद्वारा प्रस्तुत कविता “पाल्पाली मनको डिजिटल चौतारी” कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको थियो। उहाँको भावनात्मक र सशक्त काव्यिक प्रस्तुतीले उपस्थित दर्शकहरूको मन छोएको थियो।
उक्त कवितामार्फत पाल्पाली समाज यूएईको आधिकारिक वेबसाइटको महत्त्व, यसको गरिमा तथा विश्वभर रहेका पाल्पालीहरूलाई एउटै डिजिटल चौतारीमा आबद्ध गराउने भूमिकालाई प्रभावकारी ढंगले अभिव्यक्त गरिएको छ। प्रविधि र संस्कृतिको समिश्रण झल्काउने यस प्रस्तुतीले कार्यक्रममा थप गहिराइ र सन्देश दिएको थियो।
व्यस्त प्रवासी जीवनका बीच पनि आफ्नो भाषा, संस्कृति र पहिचानप्रतिको प्रतिबद्धता झल्काउने यस काव्यिक प्रस्तुतीले सहभागीहरूलाई भावुक बनाएको थियो। उक्त प्रस्तुतीको भिडियो यस समाचारसँगै समावेश गरिएको छ।
प्रस्तुत कविता
पाल्पाली मनको डिजिटल चौतारी
आज म सुनाउँदैछु एउटा सपना…२
एउटा अभियान… आत्मीयताको गाथा…
जहाँ स्पन्दित छन् पाल्पाली हृदय…
जहाँ झङ्कृत छ माया… एकताको व्यथा…
जन्मभूमि टाढा भए पनि…२
परदेशका अनगिन्ती यात्रामा…
हामी आबद्ध छौँ सधैं…
स्नेह… स्मृति… र सम्बन्धका सूत्रमा…
कहिले जम्थ्यो भेट चौतारीको छहारीमा…२
कहिले गाउँका गल्ली र पाटीमा…
आज जोडिएका छौँ हामी सबै…
प्रविधिको उज्यालो संसारको बाटीमा…
[www.palpalisamaj.org](https://www.palpalisamaj.org)
यो केवल एउटा वेबसाइट होइन…
यो त पाल्पाली मनहरूको साझा चौतारी हो…
हाम्रो अस्तित्वको उज्यालो ऐना…
हाम्रो गौरवको जीवन्त फुलबारी हो…
यहाँ संचित छन् समाजका गतिविधि…२
इतिहासका अमूल्य अध्यायहरू…
यहाँ गुन्जिन्छन् निरन्तर…
सेवा… समर्पण… र प्रगतिका गायनहरू…
खुसीका सन्देश हुन् वा पीडाका लहर…२
क्षणभरमै पुग्छन् संसारभरि…
जहाँ जहाँ पाल्पाली मन धड्किन्छ…
त्यहाँ त्यहाँ फैलिन्छ आत्मीयताको झरी…
हाम्रो संस्कृति… परम्परा… मौलिक चिनारी…२
यस डिजिटल उद्यानमा सधैं फुलिरहोस्…
नयाँ पुस्तामा आफ्ना माटोको सुवास…
र पुर्खाको विरासत सधैं बाँचिरहोस्…
आजको युग सूचना र प्रविधिको युग हो…२
समयसँगै अघि बढ्नु नै सफलताको योग हो…
त्यसैले आउनुहोस्… हातेमालो गरौँ…
यो साझा अभियानलाई अझ उज्यालो बनाऔँ…
नियाल्नुहोस्… मनन गर्नुहोस्… आफ्ना विचारका फूल चढाउनुहोस्…२
यसको सुवास आफ्ना इष्टमित्रहरूमाझ पनि फैलाउनुहोस्…
किनकि यो कुनै एक हातले बुनेको सपना होइन…
सम्पूर्ण पाल्पालीहरूको साझा पहिचान… अमूल्य धरोहर हो…
जहाँ जहाँ पाल्पाली मन छन्…२
त्यहाँ त्यहाँ यसको उज्यालो फैलियोस्…
हाम्रो एकता… हाम्रो पहिचान… हाम्रो गौरव…
विश्वभरि सुगन्धझैँ फैलियोस्…
(हाम्रो डिजिटल गृह… हाम्रो साझा आँगन…)२
पाल्पाली मन जोड्ने सेतु बनोस्…
समाजको उन्नति र प्रेरणाको स्रोत बनोस्…
स्नेह… सहकार्य… सद्भावको यो दीप…
सदैव उज्यालो बनी जलिरहोस्…२
जय पाल्पाली !
जय एकता
