पाल्पाली समाज युएईद्वारा रक्तसञ्चार सेवा पाल्पालाई आर्थिक सहयोग हस्तान्तरण सम्पन्न !
13 Dec 2025
“हाम्रो ब्लड बैंक हामी बनाउँछौं” भन्ने महाअभियानलाई सफल बनाउन वैदेशिक रोजगारीका सिलसिलामा युएईमा कार्यरत पाल्पालीहरूबाट संकलित आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी पाल्पालाई हस्तान्तरण गरिएको छ।
पाल्पाली समाज युएईले बि.स.२०८२ वैशाख १२ गते (सन 25 अप्रील 2025) पाल्पा जिल्लामा अवस्थित रेडक्रस सभाहलमा आयोजित विशेष कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापतिश्री बाबुराम कार्कीलाई रु १ लाख १ हजार १ सय ११ रुपैयाँहस्तान्तरण गरेको हो।
कार्यक्रममा पाल्पाली समाज युएईका पूर्व संरक्षक गितामणि पाण्डे, पूर्व अध्यक्ष तथा सल्लाहकार बेदप्रसाद अर्याल, पूर्व महासचिव धन बहादुर क्षेत्री, पूर्व प्रवक्ता युवराज भट्टराई, निवर्तमान उपाध्यक्ष विष्णु बस्याल, वर्तमान कोषाध्यक्ष डिल्लीराज भट्टराई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम वरिष्ठ उपाध्यक्षश्री कृष्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पाल्पा जिल्लाका राजनीतिक, प्रशासनिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राजनीतिक दलका प्रतिनिधिहरू, सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधिहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी पाल्पाका पदाधिकारीहरू, सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार तथा पाल्पाली समाज युएईका पूर्व र वर्तमान पदाधिकारीहरूको सहभागिताले कार्यक्रमलाई भव्यता प्रदान गरेको थियो।
पाल्पाली समाज युएई स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको एक उदाहरणीय संस्था हो। शिक्षा क्षेत्रमा निरन्तर योगदान, प्राकृतिक विपत्तिमा उद्धार कार्य, युएईमा समस्यामा परेका नेपालीहरूलाई सहायता तथा दिवंगत आत्माहरूको शव मातृभूमि पुर्याउने मानवीय कार्यहरूमा समाजले विशेष पहिचान स्थापित गरिसकेको छ।
अध्यक्ष कैलाश अर्यालले पाल्पाली समाज युएईले देशमा भइपरी आउने बिपत्ति भूकम्प, आगलागी जस्ता आपतकालीन परिस्थितिमा सहयोग पुर्याउदै आएको र युएईमा रहेका नेपाली दाजुभाइ-दिदीबहिनीहरूको दुखसुखमा सधैं हातेमालो गर्दै आएको उल्लेख गर्नुभयो।
यस पवित्र कार्यलाई सफल पार्न अहोरात्र खटिने सम्पूर्ण पूर्व र वर्तमान कार्यसमितिका सदस्यहरू तथा सहयोगी मनहरूलाई पाल्पाली समाज युएई हार्दिक आभार व्यक्त गर्दछ। महासचिव खुम प्रसाद न्यौपानेको विचारमा समाजको सफलताको पछाडि सबैको ऐक्यबद्धता र सहकार्यको हात छ। हाम्रो सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ हामी अगाडि बढिरहेका छौं। ‘हाम्रो ब्लड बैंक, हाम्रो गौरव’ अभियानमार्फत देश र समाजलाई केही दिने अवसर पाउँदा हामी गौरवान्वित छौं। आगामी दिनहरूमा अझ बढी सकृय र प्रभावकारी बन्ने हाम्रो दृढ संकल्प छ।
पाल्पाली समाज युएईद्वारा रक्तसञ्चार सेवा पाल्पालाई आर्थिक सहयोग हस्तान्तरण सम्पन्न
