स्वर्गीय श्री राम प्रसाद भुसालको परिबारलाई सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न
8 Jan, 2025
सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न
पाल्पाली समाज युएईका पूर्व–सदस्य, बग्नासकाली गाउँपालिका–०९, चाप्पानी, पाल्पा निवासी स्वर्गीय श्री राम प्रसाद भुसालको मिति २०८० साल कात्तिक १० गते कलिलो उमेरमै भएको असामयिक निधनको दुःखद समाचारले सम्पूर्ण पाल्पाली समाज युएई परिवार अत्यन्तै शोकाकुल र मर्माहित भएको छ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै तथा उहाँको पारिवारिक अवस्था र नाबालक सन्तानहरूको भविष्यलाई मध्यनजर गरी पाल्पाली समाज युएईद्वारा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट सङ्कलित रकम पाल्पाली समाज युएईको संयोजकत्वमा हस्तान्तरण गरिएको छ।
उक्त रकम हस्तान्तरण कार्यक्रम पाल्पाली समाज युएईका पूर्व महासचिव श्री धनबहादुर क्षेत्री तथा उपाध्यक्ष श्री विष्णु बस्यालको उपस्थितिमा, बग्नासकाली गाउँपालिका उपाध्यक्ष श्री हरि प्रसाद पाठक, स्थानीय समाजसेवी श्री कृष्ण भुसाल, स्थानीय अग्रजज्यूहरू तथा परिवारजनहरूको रोहबरमा सम्पन्न भएको हो।
राहत अभियानअन्तर्गत युएई दिराम ४,७४०/- र नेपाली रुपैयाँ १७,५५०/- गरी जम्मा संकलित कुल रकम रु. १,८८,९१६/- मध्ये:
-
काजकिरिया खर्च स्वरूप रु. ३३,०५०/-
-
मृतककी धर्मपत्नीलाई नगद रु. ५५,८६६/-
-
नाबालक सन्तानहरूको भविष्य सुरक्षाका लागि आमा शान्ति भुसाल र छोरा ऋषभ भुसालको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा संयुक्त खाता खोली रु. १,००,०००/- को फिक्स्ड डिपोजिट
गरी रकम हस्तान्तरण गरिएको जानकारी सम्पूर्णमा गराइन्छ।
यस मानवीय तथा सहयोगात्मक अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहकार्य र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरूप्रति पाल्पाली समाज युएई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
पाल्पाली समाज युएई परिवार
