दुबईमा तीजको रमझम: पाल्पाली समाज युएईको आयोजनामा हजारौं नेपालीको सहभागिता
13 Dec 2025
निशान्त पाठक, बरदुबई युएई । नेपाली संस्कृतिको जगेर्ना र चाडपर्वको उल्लास प्रवासमै मनाउने हेतुले आयोजित पाल्पाली समाज युएईको तीज सांस्कृतिक कार्यक्रम–२०८२ भव्यताका साथ सम्पन्न भएको छ।
२७ जुलाई २०२५, आइतवार का दिन बरदुबईस्थित क्लब एसके सेभेन हल मा सम्पन्न कार्यक्रममा युएईका विभिन्न शहरबाट हजारौं नेपालीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण बनेका नेपालका चर्चित लोकगायिका सुषिला गौतम र गायक नविन पौडेलले तीजका मौलिक गीतहरू प्रस्तुत गर्दै दर्शकलाई झुमाएका थिए। उनीहरूको प्रस्तुतीले कार्यक्रममा सांगीतिक ऊर्जा थपेको थियो भने, उपस्थित दर्शकहरूले ताली र नाचमार्फत कलाकारहरूप्रति आफ्नो उत्साह प्रकट गरे।
वर्षौँदेखि यस्ता कार्यक्रमहरू गर्दै आएको भए पनि यस वर्षको कार्यक्रम ऐतिहासिक र उदाहरणीय बनेको सहभागीहरूले बताएका छन्। सुव्यवस्थित आयोजना, समयपालना, सांस्कृतिक प्रस्तुतिहरूको गुणस्तर र सहभागीहरूको उत्साहका कारण यो कार्यक्रम अझ विशेष बन्यो।
कार्यक्रममा युएईका विभिन्न प्रदेशबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता देखिनुका साथै, प्रवासमा रहेर पनि नेपाली चाडपर्वले कसरी आत्मीयता र एकताको सन्देश दिन सक्छ भन्ने उदाहरण पेश गरिएको थियो।
पाल्पाली समाज युएईले सम्पूर्ण सहभागी, स्वयंसेवक, कलाकार, सञ्चारकर्मी तथा सहयोगी संस्थाहरूलाई कार्यक्रमलाई सफल पार्न दिएको साथ र समर्थनप्रति हार्दिक आभार प्रकट गरेको छ। संस्थाले आगामी दिनहरूमा अझ आकर्षक र समावेशी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता पनि जनाएको छ।
