श्री सातपोखरी माध्यमिक विद्यालयमा-माथागढी गाउँपालिका
17 Mar 2019
श्री सातपोखरी माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण माथागढी गाउँपालिका–६, गोठादी, पाल्पा | मिति: २०७४ साल
मानव विकासको महत्वपूर्ण आधारका रूपमा रहेको शिक्षा क्षेत्रलाई समयसापेक्ष परिवर्तन गर्नु आजको आवश्यकता हो। सभ्य, उन्नत, गतिशील, चेतनशील तथा सिर्जनशील समाज निर्माण गर्दै देशलाई विज्ञान र प्रविधिको मार्गमा अघि बढाउन तथा समृद्ध राष्ट्र निर्माणका लागि नयाँ पुस्ता तयार गर्न शिक्षा नै पहिलो ढोका हो भन्ने मान्यतालाई आत्मसात गर्दै पाल्पाली समाज यूएईले शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक युएईमा रहेका पाल्पालीहरूलाई एकताबद्ध गर्दै १७/०४/२०१५ मा युएईमा स्थापना भएको पाल्पालीहरूको छाता संस्था पाल्पाली समाज यूएई ले आफ्नो वार्षिक कार्ययोजना अनुसार पाल्पा जिल्लाका विद्यालयहरूमा शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। “एक साविक गा.वि.स. एक विद्यालय छनोट गरी प्रत्येक विद्यालयमा रु. २५,००० (पच्चीस हजार रुपैयाँ) बराबरको अक्षयकोष स्थापना गर्ने” समाजको निर्णय अनुरूप यस वर्ष माथागढी गाउँपालिका–६, गोठादी स्थित श्री सातपोखरी माध्यमिक विद्यालय छनोट गरिएको हो।
आज आयोजित विशेष कार्यक्रममार्फत पाल्पाली समाज यूएईले उक्त विद्यालयलाई रु. २५,००० बराबरको अक्षयकोष रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएको रकम पाल्पाली समाज यूएई संरक्षक रहने गरी विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सोही क्षेत्रबाट युएईमा कार्यरत पाल्पाली समाजमा आबद्ध सदस्यहरूको रोहबरमा सञ्चालन गरिनेछ।
उक्त अक्षयकोष विद्यालयको वार्षिक कार्यतालिका अनुरूप गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिनेछ। कोषको सही, पारदर्शी र प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसमक्ष पाल्पाली समाज यूएईले विनम्र अनुरोध गरेको छ।
