श्री राधाकृष्ण प्राथमिक विद्यालयमा-तान्सेन नगरपालिका
17 Jan 2015
श्री राधाकृष्ण प्राथमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण तान्सेन नगरपालिका–१३, बौघागुम्हा, पाल्पा | मिति: २०७४ साल
मानव विकासको महत्वपूर्ण आधारका रूपमा रहेको शिक्षा क्षेत्रलाई समयसापेक्ष सुधार गर्नु आजको आवश्यकता हो। सभ्य, उन्नत, गतिशील, चेतनशील तथा सिर्जनशील समाज निर्माण गर्दै देशलाई विज्ञान र प्रविधिको मार्गमा अघि बढाउन तथा समृद्ध राष्ट्र निर्माणका लागि नयाँ पुस्ता तयार गर्न शिक्षा नै पहिलो ढोका हो भन्ने मान्यतालाई आत्मसात गर्दै पाल्पाली समाज यूएईले शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक युएईमा रहेका पाल्पालीहरूलाई एकताबद्ध गर्दै १७/०४/२०१५ मा स्थापना भएको पाल्पालीहरूको छाता संस्था पाल्पाली समाज यूएई ले आफ्नो वार्षिक कार्ययोजना अनुरूप पाल्पा जिल्लाका विद्यालयहरूमा शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। “एक साविक गा.वि.स. एक विद्यालय छनोट गरी प्रत्येक विद्यालयमा रु. २५,००० (पच्चीस हजार रुपैयाँ) बराबरको अक्षयकोष स्थापना गर्ने” समाजको निर्णय अनुसार यस वर्ष तान्सेन नगरपालिका–१३, बौघागुम्हा स्थित श्री राधाकृष्ण प्राथमिक विद्यालय छनोट गरिएको हो।
आज आयोजित कार्यक्रममा पाल्पाली समाज यूएईले उक्त विद्यालयलाई रु. २५,००० बराबरको अक्षयकोष रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएको रकम पाल्पाली समाज यूएई संरक्षक रहने गरी विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सोही क्षेत्रबाट युएईमा कार्यरत पाल्पाली समाजका सदस्यहरूको रोहबरमा सञ्चालन गरिनेछ।
उक्त अक्षयकोष विद्यालयको वार्षिक कार्यतालिका अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिनेछ। कोषको सही, पारदर्शी र प्रभावकारी कार्यान्वयनका लागि पाल्पाली समाज यूएईले सम्बन्धित सबै पक्षसँग विनम्र अनुरोध गरेको छ।
